घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष, सफल उद्यमी तथा समाजसेवी रमेश कुमार श्रेष्ठको २०८० साल असार १३ गते बुधवारका दिन दु:खद देहावसान भएको छ ।
तत्कालिन संघलाई महासंघमा परिणत गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका श्रेष्ठ वि।सं २०५३ साल असार देखि २०५५ साल पौष महिनासम्म महासंघको अध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो ।
महासंघको विकास र प्रगतिका लागि अहोरात्र खटिनुभएका उहाँको सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरुको औद्योगिक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको थियो ।
विराटनगरमा स्थायी बसोबास रहेको उहाँकै नेतृत्वमा महासंघको सातौं वार्षिकोत्सव इतिहासमै भव्यताका साथ आयोजना हुन पुगेको थियो ।
उहाँको सवल नेतृत्वमा तत्कालिन अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँग सम्बन्ध अभिबृद्धि गरी लघु, घरेलु तथा साना र महिला उद्यमीहरुको पक्षमा व्यापक कार्यक्रमहरु सञ्चालन हुन सकेको थियो भने महासंघलाई देश विदेशमा परिचित गराउन समेत उहाँको सवल नेतृत्व सफल भएको थियो ।
उहाँको निधनबाट महासंघको संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाउनु परेको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताउनुभयो ।
यस दु:खद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै शोक मनाउने सिलसिलामा उहाँको सम्मानमा असार १५ गते शुक्रबार महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरु एक दिनका लागि बन्द गरिने र महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top