घट्यो पेट्रोल र एलपीजी ग्याँसको मूल्य

काठमाडौँ । जुलाईको लागि पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल र एलपीजी ग्याँसको मूल्य घटेर आएको छ । आइओसीले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसार औसत मूल्य पठाउने गर्दछ ।
निगमका अनुसार पेट्रोल प्रति लिटर १४ पैसा र एलपीजी ग्याँस १ सय ६० रुपैयाँ घटेर आएको छ । जुलाई १ मा पठाएको मूल्य अनुसार ग्याँस बेच्दा निगम अहिले बीइपीमा छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हरेक वर्ष यो महिनामा एलपीजी ग्याँसको मूल्य न्यून विन्दुमा रहने गर्दछ भने भदौ लागेपछि विस्तारै भारतीय बजार तथा युरोपेली बजारमा समेत माग बढ्दै जाने हुँदा मूल्य पनि घट्दै जाने गर्दछ ।
नयाँ मूल्य सूची अनुसार डिजेलमा प्रति लिटर २ रुपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा घटेर आएको निगमले जनाएको छ । हवाई इन्धनमा धेरै नाफा भएर घटाउन दबाब आएपछि निगमले हालै मात्रै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ मूल्य घटाएको थियो । हवाई इन्धनको मूल्य समायोजना गर्दा समेत निगमलाई १ पाक्षिक रुपमा १ अर्ब ६३ करोड नाफा रहेकोमा पछिल्लो समय डिजेलमा समेत मूल्य घटेर आएकाले यो नाफा अहिले १ अर्ब ६० करोड रुपैयाँमा सीमित भएको प्रवक्ता ठाकुरले बताए ।
पछिल्लो समय निगम नाफामा जान थालेपछि आइओसीको सबै बक्यौता भुक्तानी गरिसकेको छ भने सरकारलाई तिर्न बाँकी ६ अर्ब ३० करोड समेत निकट भविष्यमै तिर्न सक्ने देखिन्छ । निगमले पछिल्लो समय नाफामा जान थालेकाले बिक्री मूल्यका १ प्रतिशत मुल्य स्थिरीकरण कोषमा राखिने प्रवक्ता ठाकुरले बताए । निगम नोक्सानीमा रहँदा सोही कोषबाट २१ अर्ब रुपैयाँ रकम चलाएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top