एउटा म्युचुअल फण्डले अर्को म्युचुअल फण्डमा गर्न पाउने लगानीमा प्रतिबन्ध लगाउनु पर्छ

काठमाडौँ । दोस्रो बजार घट्दो लयमा छ। घटेको बजारमा सूचिकृत सबै जसो कम्पनीका शेयर मूल्य घटेका छन्। सूचिकृत कम्पनीमा पनि सामूहिक लगानी कोषका योजनाहरूको हालत थप खराब स्थितिमा धकेलिँदै जान थालेका छन्।
सूचिकृत सबैजसो म्युचुअल फण्डको प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा तल झरेका छन्। जबकि सर्वसाधारणले प्राथमिक बजारमै प्रति इकाई १० रुपैयाँ हालेर किनेका हुन्। यति बेला बिक्री गर्दा सर्वसाधारणले साँवा पनि उठाउन सक्दैनन्। सबै जसो म्युचुअल फण्डको इकाई मूल्य प्राथमिक बजारमा निष्कासन गरेको मूल्य भन्दा तल झर्न थालेपछि प्राथमिक बजारमा निष्कासन भएको सामूहिक लगानी योजनाका इकाईमा सर्वसाधारणको आकर्षण समेत घट्न थालेको छ। पछिल्लो समय निष्कासन भएका सामूहिक योजनामा माग अनुसार पैसा उठ्न छाडेपछि कोषहरूले फण्डको साइज नै घटाउन बाध्य हुनु परेको विषय कसैबाट छुपेको छैन।
खासगरि सर्वसाधारणलाई दोस्रो बजारमा हुने जोखिमबाट जोगाउने औजारको रुपमा सामूहिक लगानी योजनालाई लिने गरिन्छ। दोस्रो बजारको अवस्था र उतार चढावको विषयमा मिहिन अध्ययन गरी प्रतिफलयुक्त लगानी गर्छन् भन्ने उद्देश्यले सर्वसाधारणले इकाईहरू खरिद गर्ने हो। तर सर्वसाधारणले भन्दा पनि फितलो प्रदर्शन योजनाहरूले गर्न थालेपछि सर्वसाधारणको विश्वास कोषहरूको इकाईबाट उठ्दै गएको हो।
अझै कोषहरूले गर्ने लगानीमा म्युचुअल फण्ड कै इकाईहरू पर्न थालेपछि सर्वसाधारणको विश्वास थप कोषहरूबाट हराउन थालेको बताइएको छ।“पहिले पहिले मैले कोषहरूको इकाई किन्ने गर्थे। शेयर बजारको धेरै जानकारी नहुने भएकोले पनि इकाईहरू किन्दा फाइदा नै हुन्छ भन्ने विश्वास मलाई थियो। तर बिस्तारै कोषहरूले के कस्ता क्षेत्रमा लगानी गर्दा रहेछन् भन्ने हेर्न थाले। तर त्यहाँ त एउटा कोषले अर्को कोषको पनि इकाई किन्ने प्रचलन रहेछ। एउटा कोषले अर्को कोषको इकाई किन्ने हो भने मैले किन कोषको इकाई किन्नु फेरि सबै कोषको अवस्था उस्तै छ। त्यसले गर्दा डुबे सबै डुब्ने, नाफा भए सबैलाई नाफा हुने। यस्तो पनि लगानी हुन्छ एक कोषका इकाई धनीले मेरो लगानी सँग भने।
नियम अनुसार बोर्डमा दर्ता भएको धितोपत्र,सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र,नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र,ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरू,बैंक निक्षेप, मुद्रा बजार उपकरण, बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्न पाउँछन्। त्यसमा पनि अन्य सामूहिक लगानी कोष अन्तर्गतको योजनामा योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मूल्यको दश प्रतिशत भन्दा बढी नहुने गरी लगानी गर्नु पर्ने प्रावधान नै छ। सोही प्रावधानमा ती लगानीकर्ताले चित्त नबुझाएका हुन्। उनका अनुसार एउटा म्युचुअल फण्डले अर्को म्युचुअल फण्डमा गर्न पाउने लगानीमा प्रतिबन्ध लगाउनु पर्छ। त्यसको काम छैन।
पछिल्लो समय सामूहिक लगानी कोषहरूले २० अर्ब रुपैयाँ भन्दा बढी लगानी सूचिकृत कम्पनीहरूमा गरेका छन्। त्यस मध्ये एक अर्ब भन्दा बढी लगानी एक कोषले अर्को कोषको इकाईमा गरेका छन्। जुन कुल सूचिकृत लगानीको ५।५८ प्रतिशत हो। सूचिकृत ३८ म्युचुअल फण्ड मध्ये ३३ फण्डले एक अर्काको फण्ड खरिद गरेका छन्। जसमा सबैभन्दा बढी मेगा म्युचुअल फण्ड १ ले एक करोड भन्दा बढी रुपैयाँ बराबरको म्युचुअल फण्ड खरिद गरेको छ। सूचिकृत म्युचुअल फण्डले भने माथिका इकाईधनीले भने जस्तै गरी कुनै पनि सामूहिक लगानी कोषको इकाई खरिद गरेका छैनन्। तिनले समाएकै बाटो सबैलाई समाउन धितोपत्र बोर्डले बाध्य पार्नु पर्ने उनको जिकिर छ। “कुनै कुनै फण्डहरूले कुनै पनि म्युचुअल फण्डको इकाई खरिद गरेका छैनन्। तिनलाई जस्तै अरूलाई पनि त्यही बाटो बोर्डले देखाउनु पर्छ” ती इकाई धनीले भने।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top