सरकारको ऋण १७ खर्ब २३ अर्ब पुग्यो


काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म पुग्दा सरकारको ऋण दायित्व १७ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यसमा बाह्य ऋण ९ खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने आन्तरिक ऋण ७ खर्ब ७३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
चालु आवको पहिलो त्रैमासमा सरकारको ऋण ८० प्रतिशतले घटेको छ । नेपालको वैदेशिक ऋण १.६२ प्रतिशतले बढेको छ भने आन्तरिक ऋण ३.६१ प्रतिशतले घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । आन्तरिक बजारमा ट्रेजरी बिलको भुक्तानी गरेको हुनाले आन्तरिक ऋणमा केही प्रतिशतले कमी देखिएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १५.०८ अर्ब रुपैयाँ वैदेशिक ऋणमा वृद्धि भएको छ भने २९ अर्ब रुपैयाँले आन्तरिक ऋणमा गिरावट आएको छ । तीन महिनामा १९.४९ अर्ब रुपैयाँले वैदेशिक ऋणमा वृद्धि भए पनि ५.१७ अर्ब रुपैयाँको साँवा भुक्तानी गर्दा पहिलो तीन महिनामा खुद वैदेशिक ऋण १५.०८ अर्ब रुपैयाँ देखिन गएको हो ।
नेपालले बहुपक्षीय र द्विपक्षीय गरी दुई क्षेत्रबाट वैदेशिक ऋण भित्रिने गरेको छ । बहुपक्षीय अन्तर्गत एसियन डेभलपमेन्ट बैंक, युरोपियन इकोनोमिक काउन्सिल, युरोपियन इन्भेष्टमेन्ट बैंक इआईबी, एसिएन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक एआइआइबी, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ आइडीए, अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ, नोर्डिक डेभलपमेन्ट फन्ड एनडीएफ र पेट्रोलियम पार्थ निर्यात राष्ट्रहरुको संगठन ओपेक रहेका छन् । बहुपक्षीय विदेशी ऋणअन्तर्गत चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १६.३१ अर्ब भित्रिएको छ । जुन कुल वैदेशिक ऋणको ८३.६८ प्रतिशत हो । बहुपक्षीय वैदेशिक ऋणमा सबैभन्दा बढी हिस्सा भने विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघको हुने गरेको छ । त्यसपछि दोस्रो ठूलो ऋणदातामा भने एसियाली विकास बैंक रहेको छ ।
कुल वैदेशिक ऋणको १६.३२ प्रतिशत भने द्विपक्षीय अन्तर्गत विभिन्न दातृ राष्ट्रले ऋण सहयोग गरेका हुन । ३ अर्ब १८ करोड ५ लाख रुपैयाँ भने द्विपक्षीय रुपमा विभिन्न मुलुकहरुले ऋणस्वरुप नेपाललाई सहयोग गरेका हुन । द्विपक्षीय वैदेशिक ऋण लगानीमा सबैभन्दा बढी ऋण लगानी गर्ने राष्ट्रमा जापान रहेको छ । नेपालको कुल वैदेशिक ऋणमा द्विपक्षीय ऋण लगानी १० देखि १२ प्रतिशतसम्म हुने गरेको छ । त्यसमा करिब ४ प्रतिशत ऋण लगानी जापानको तर्फबाट हुने गरेको छ । त्यसैगरी नेपालको भौगोलिक रुपमा सीमा जोडिएका दुई छिमेकी देशहरु चीन र भारतको ऋण लगानी ३ प्रतिशतको वरिपरि हुने गरेको छ ।
चालु आवको पहिलो तीन महिनामा सरकराले ४१.९३ अर्ब रुपैयाँको ऋण परिचालन गरेको छ जसमध्ये ३५.१३ अर्ब रुपैयाँको आन्तरिक ऋण परिचालन गरेको छ । यो कुल ऋणको ८३.७३ प्रतिशत हुन आउँछ । त्यसैगरी बाँकी ६.७९ अर्ब रुपैयाँ अर्थात १६.२१ प्रतिशत भने वैदेशिक ऋण परिचालन गरिएको छ । यसमा ५.१७ अर्ब रुपैयाँ वैदेशिक ऋणको साँवा भुक्तानीमा खर्च भएको छ । त्यस्तै २९ अर्ब रुपियाँ आन्तरिक बजारको ऋण तिर्न खर्च गरिएको छ । समग्रमा तीन महिनामा सरकारले ३४.१७ अर्ब रुपैयाँ साँवा भुक्तानी र ७.७६ अर्ब रुपैयाँको व्याज भुक्तानी गरेका छन् । १.६२ अर्ब रुपैयाँ वैदेशिक ऋण र ६.१३ अर्ब रुपैयाँ आन्तरिक ऋणको व्याज स्वरुप भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

THANK YOU FOR VISITING US :)
Scroll to Top